दफा ९१
कारबाही गर्ने अधिकार
(१) भन्सार क्षेत्र बाहेक अन्यत्रबाट भन्सार महसुल छली ल्याएका मालवस्तु कसैले पक्राउ गरी भन्सार कार्यालयमा पेश गरेकोमा भन्सार अधिकृतलाई र विभागमा पेश गरेकोमा महानिर्देशक वा निजले तोकेको कुनै अधिकृतलाई सो उपर यस ऐन बमोजिम अनुसन्धान र कारबाही गर्ने अधिकार हुनेछ ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार कार्यालयबाट जाँचपास भइसकेको कुनै मालवस्तुका सम्बन्धमा कुनै सूचना प्राप्त भएमा वा शंका लागेमा महानिर्देशकले कुनै अधिकृतलाई तोकी त्यस्तो मालवस्तु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा महानिर्देशकले यस ऐन बमोजिम भन्सार अधिकृतलाई भए सरहको अधिकार प्रयोग गरी आवश्यक कारबाही गर्न सक्नेछ ।